कर नीतिविरुद्ध कोहलपुरका व्यवसायी सडकमा, असार २५ गते व्यापार बन्द र प्रदर्शनको घोषणा

कोहलपुर असार २२ — नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी र बहुमूल्य गहना लगायतका वस्तुमा लगाएको विलासीता शुल्क र मूल्य अभिवृद्धि कर (VAT)प्रति असन्तुष्टि जनाउँदै कोहलपुरका व्यवसायीहरू आन्दोलनमा उत्रिने भएका छन् ।
सरकारको कर नीति व्यवसायीमात्र होइन, उपभोक्ताका लागि पनि प्रतिकूल रहेको भन्दै उनीहरूले तीव्र आपत्ति जनाएका छन्। व्यापारमैत्री वातावरण विपरीत नीति ल्याइएको भन्दै व्यवसायीहरू संगठित विरोधमा जाने तयारीमा छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको अगुवाइमा विभिन्न वस्तुगत संघहरूको समन्वयमा असार २५ गते, बुधबार बिहान ८:०० बजे न्युरोड चोकमा विरोध प्रदर्शन गरिने भएको छ । कार्यक्रमलाई सशक्त बनाउन बिहान १२:०० बजेसम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय बन्द गरिने जनाइएको छ ।
आन्दोलनको उद्देश्य सरकारलाई व्यवसायीहरूको आवाज सुनाउन र कर वृद्धिविरुद्ध दबाब सिर्जना गर्नु रहेको संघले स्पष्ट पारेको छ । संघले सबै व्यवसायी, पदाधिकारी र सदस्यहरूलाई समयमै उपस्थित भई विरोध कार्यक्रम सफल पार्न आग्रह गरेको छ ।
विरोध कार्यक्रमको विवरण:
मिति: २०८२ असार २५ गते, बुधबार
समय: बिहान ८:०० बजे
स्थान: न्युरोड चोक, कोहलपुर
यदि सरकारले व्यवसायीहरूको माग बेवास्ता गर्यो भने आन्दोलनलाई थप सशक्त बनाउँदै चरणबद्ध रूपमा अघि बढाउने चेतावनी समेत दिइएको छ ।
