तुलसीपुर बसपार्कमा सार्वजनिक शौचालय, किवानिसलाई सञ्चालनको जिम्मा
तुलसीपुर, १७ माघ ।
दाङको तुलसीपुर बसपार्कमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले निर्माण गरेको उक्त शौचालयले शनिबार वडाध्यक्ष विरेन्द्र शाहले उद्घाटन गरेका हुन् । बसपार्कमा यस अघि सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै वडाले निर्माण गरेको उक्त सार्वजनिक शौचालयको सञ्चालनको जिम्मा किवानिस क्लब राप्तीले पाएको हो । वडाध्यक्ष शाहले सञ्चालनकालागि क्लबका अध्यक्ष विमल पोखरेल(जेठु)लाई साँचो हस्तान्तरण गरेका हुन् ।
क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष शाहले राजनीति भनेको समाज सेवा भएको भन्दै आफू पनि नियमित समाजसेवामा रहेको बताए । उनले क्लबको यो कार्यप्रति सन्तुष्टि भएर नै सार्वजनिक सौचालय सञ्चालनको जिम्मेवारी दिएको बताए । कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा लामिछानले समाज रुपान्तरणकालागि समाजसेवीको भूमिका महत्वपूर्ण हुने बताईन् ।
क्लबले यस अघि सितलपुर स्थित शवदाह स्थल सरसफाई गर्नुकासाथै तुलसीपुर १० चैलाहीका अग्नीपीडितलाई सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण संस्थाका संरक्षक नरेन्द्र वलीले गरेका थिए ।