विधानलाई ध्वस्त पार्न खोजियो : हिराचन्द्र केसी
तुलसीपुर, १९ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच सांसद हिराचन्द्र केसीले न्यानो कपडा वितरण गरेका हुन् । वडाका १३ जनालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यवहाक वडाध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद केसीले लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धीलाई ध्वस्त पार्न खोजेको भन्दै यसमा सबै जनता एकजुट हुनुपर्ने बताए ।
मुलुकमा जारी गरिएको संबिधानलाई ध्वस्त पार्न खोजिएको भन्दै पुनः संविधान निर्माणकालागि मुलुकले ठूलो क्षति व्यहोर्ने भन्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्न प्रतिगमणका विरुद्ध एकजुट हुनुपर्ने उनको भनाई थियो । अहिलेको सरकारले जनतालाई लखेटी–लखेटी मार्ने प्रबृति रहेको भन्दै सचेत हुनुपर्ने समेत बताए ।
कार्यक्रममा कार्यवहाक वडाध्यक्ष पाण्डेले आफूलाई वडाले सर्वसहमति रुपमा वडाध्यक्ष बनाएको भएपनि उपमहानगरपालिकाले स्वीकार नगरेको बताए ।‘वडाले मलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइसकेको छ’, उनले भने‘तर, उहाँहरुले(उपमहानगरपालिकाले) मलाई कार्यवहाक अध्यक्ष मान्नुहुन्न ।’ यस विषयमा उपमहानगरपालिकाले आफूलाई पक्षपात गरेको समेत उनको भनाई छ । आफूलाई उपमहानगरपालिकाले हरेक हिसाबले उपेक्षा गरेको भन्दै केही दिन अघि उद्घाटन भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत सहभागीता नजनाएको बताए ।