शिवरात्रीमा दाङका यी स्थानमा लाग्छ मेला

तुलसीपुर, २७ फागुन ।
आज (बिहीबार) शिबरात्रीको अवसरमा दाङका बिभिन्नि स्थानमा मेला लाग्ने गर्छ । आज दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सितलपुर स्थिर सिद्धेश्वर शिव मन्दिर, दाङको धारापानी, सवारीकोट, बेलझुण्डीको शिबालय मन्दिर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाङपुर स्थित हात्ती ढुंगा भएको स्थानमा शिव मेला लाग्दै छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा भोटे मेला लाग्दैछ । यी स्थानमा विहानै देखि मेला भर्न आउनेको भीडभाड छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहिवार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व जगत्को कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
शिवरात्रिको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।