मेस्सीको रेकर्ड तोडे एम्बाप्पेले

क्लब ब्रग्सलाई हराउने क्रममा गोल गर्दै किलियान एम्बाप्पेले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको कीर्तिमान भंग गरेका छन् । योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने पहिलो सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।
खेलको सात मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई दुई गोलको अग्रता दिलाएका थिए । एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ । ३० गोल पुरा गर्न २२ वर्ष र ३५२ दिन लागेको थियो । मेस्सीलाई यही कोशेढुंगा पार गर्न २३ वर्ष र १३१ दिन लागेको थियो ।
त्यसपछि एम्बाप्पले खेलको ३८ औँ मिनेटमा लियोनेल मेस्सीका लागि गोलको अवसर सिर्जना गरे । खेलको ६८ औँ मिनेटमा पाहुना टोलीका लागि रिट्सले एक गोल फकाए पनि ७६ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । ३४ वर्षीय खेलाडीको प्रतियोगितामा ३८ औँ फरक टोलीविरुद्धको गोल थियो । उनले यसमा क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई बराबरी गरेका छन् । जीतका बावजुद पीएसजी समूह एको दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।