सञ्चारकर्मी हेमराजको हत्यामा कारबाहीको माग, गृहमन्त्री लेखकको ध्यानाकर्षण

दाङ, साउन ३ – १५ वर्षअघि हत्या गरिएका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराइएको छ।
ध्यानाकर्षणपत्र हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई बुझाएका हुन्।
हेमराजको २०६७ साल साउन ६ गते, तुलसीपुर–१२, जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उहाँ त्यसबेला रेडियो तुलसीपुरका अध्यक्ष हुनुहुन्थ्यो।
ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले राज्यले अपराधीलाई कारबाही गर्नुपर्ने नैतिक जिम्मेवारी रहेको उल्लेख गर्दै घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो।
“१५ वर्षसम्म पनि सञ्चारकर्मीका हत्यारा पत्ता नलाग्नु दुःखद हो,” मन्त्री लेखकले भन्नुभयो, “ढुक्क हुनुस्, म आइजिपीलाई गम्भीर अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिन्छु।”
हाल यो घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले हेर्दै आएको छ। तर, अनुसन्धानमा खास प्रगति नभएको मृतकका भाई पुष्कर धितालको गुनासो छ। उनका अनुसार अहिलेसम्म प्रहरीले हत्याराको स्केचसमेत बनाउन सकेको छैन।