घोराहीमा मात्रै एकसय २९ कोरोना संक्रमित, शान्तिनगर र दंगीशरणमा शून्य
तुलसीपुर, ३ असार ।
दाङको घोराहीमा मात्रै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै घोराहीमा मात्रै संक्रमितको संख्या एकसय २९ पुगेको हो । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । घोराहीमा चारजना स्वास्थ्यकर्मीपनि संक्रमित रहेका छन् ।
यस्तै दाङको दंगीशरण र शान्तिनगर गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । उहाँका अनुसार बंगलाचुली गाउँपालिकामा ७०, लमही नगरपालिकामा १०, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा ८÷८ जना रहेका छन् ।
त्यस्तै राजपुर गाउँपालिकामा ७, बबई गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले जिल्लामा दुईसय ४३ जना कोरोना संक्रमित रहेका छन् ।