रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु
१७ भदौ,बुटवल ।
भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए ।
१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।
अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ ।
एकै दिन तीन जनाको मृत्यु
यसअघि भीम अस्पपतालमा बुधबार बिहान नवलपरासी पश्चिम रामग्राम– ५ कि कोरोना संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको थियो ।
बुधबार नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो ।