कोरोना सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघ्यो
काठमाडौं, १ पुस ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाबाट थप १३ को मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएको थियो । आज मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् ।