चीनमा कोरोना विरुद्धको खोप लगाउने तयारी
घोराही, ४ मंसिर ।
चीनले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीले केही हप्ताभित्रै सर्वसाधारणमा खोप लगाउन शुरु गरिने जनाएका छन् । सिचुआन प्रान्तमा सर्वसाधारणका लागि आगामी नयाँ वर्षको शुरुदेखि नै खोप दिन थालिने सरकारद्वारा सञ्चालित समाचार संस्थाले जनाएको छ । तर केन्द्र सरकारले भने अझै खोप लगाउन आधिकारिक स्वीकृति दिइसकेको भने छैन ।
चीनमा खोपले आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेको छ । पहिलो चरणमा कम्तिमा १० लाख जनालाई खोप लगाइने छ । पहिलो चरणमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई खोप लगाइने बताइएको छ । चीनले विकास गरेका कोरोनाविरुद्धका पाँच खोप परीक्षणको अन्तिम चरणमा छन् ।
कोरोना भाइरस गत वर्ष डिसेम्बर महिनाको अन्त्यतिर पहिलो पटक चीनको वुहानमा देखा परेको थियो । यसैबीच अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपका रुपमा मोडेर्ना खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।