९ वर्षीय बालक गाडिएको अवस्थामा मृत फेला, आमा र सौतेनी बुवा प्रहरी नियन्त्रणमा

कोहलपुर वैशाख १६ – बाँकेको बैजनाथ गाउँपालिका–४, नौलापुरमा ८ दिनदेखि हराइरहेका ९ वर्षीय बालक कुशल बुढाको शव गाडिएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बालक कुशल बुढाको शव आइतवार साँझ स्थानीय जंगल क्षेत्र नजिकै माटोमा गाडिएको अवस्थामा भेटिएको हो। मृतक कुशल कोहलपुर नगरपालिका–११ हरियाली मार्गस्थित भाडाको कोठामा आमा र सौतेनी बुवासँग बस्दै आएका थिए।
प्रहरीका अनुसार कुशलका जैविक पिता सानै उमेरमा मृत्यु भइसकेका थिए। त्यसपछि आमाले दुल्लु नगरपालिका–१० निवासी निरक नाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन्। कुशल कोहलपुरको एक माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए।
शव भेटिएपछि प्रहरीको टोलीले बालकका आमा र सौतेनी बुवालाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछका लागि इलाका प्रहरी कार्यालय, कोहलपुरमा राखेको जनाएको छ। घटनाको प्रकृति हेर्दा हत्या गरेर शव लुकाउने उद्देश्यले गाडिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक पातलीले बालकको शव फेला परेको पुष्टि गर्दै घटनाको अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन् ।
अहिलेसम्म घटनाको सबै विवरण खुल्न बाँकी छ, अनुसन्धान अघि बढिरहेको छ डीएसपी पातलीले बताए ।
स्थानीय बासिन्दा घटनाबाट स्तब्ध भएका छन् र दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। घटनाले बालबालिका सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।