बाल शिक्षा माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम, विद्यार्थीलाई व्यवहारिक ज्ञान

कोहलपुर असार २०– शिक्षा किताबी ज्ञानमा सीमित हुनुहुँदैन भन्ने उदाहरण पेश गर्दै कोहलपुर नगरपालिका–१३ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालय, भरैयाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यालयले आफ्नै स्रोत र सक्रिय प्रयासबाट विद्यार्थीलाई व्यवहारिक सीपसँग जोड्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो ।
विद्यालयले यो कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख रुपैयाँको लगानीमा ४७ वटा मौरीका घार, कोदोको खेती (ब्याड), र आँपका बोटहरू व्यवस्थापन गरेको छ । यी सबै गतिविधिमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता गराइएको छ । विद्यालयको जग्गा अतिक्रमण गरेका कारण व्यक्तिको जग्गमा उक्त कार्यक्रम संचालन गर्दै र्आएको छ ।

विद्यालयका प्रधानाध्यापक टर्क बहादुर खत्रीले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई कक्षाकोठाभित्रको पढाइसँगै जीवन उपयोगी सीप सिकाउनु हो उनले भने,“हामीले कागजमै सीमित शिक्षा दिने होइन, विद्यार्थीलाई व्यवहारमै सिकाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं । मौरीपालन, कृषि र फलफूल खेतीमार्फत विद्यार्थीलाई सिकाउने र उनीहरूको सीप विकास गर्ने हाम्रो प्रयास हो” ।
विद्यालयले सञ्चालन गरेको मौरीपालन गतिविधिमा विद्यार्थीहरूलाई मौरीको हेरचाह, मह संकलनको तरिका, मौरीको जीवनचक्र जस्ता विषयमा जानकारी दिइँदैछ । यससँगै कोदो खेती समेत गरिएको छ, जसले कृषि अभ्यासमा विद्यार्थीलाई प्रत्यक्ष संलग्न गराउने काम गरेको छ ।

त्यस्तै, विद्यालयले आँपका बोटहरू पनि रोपेको छ, जसबाट आयआर्जनको स्रोत बनेको छ । विद्यालयले यो सबै कार्य आफ्नै शिक्षक, विद्यार्थी, र स्थानीय स्रोतको सहयोगमा सञ्चालन गरिरहेको छ ।
प्रधानाध्यापक खत्रीका अनुसार, यस कार्यक्रमबाट उत्पादन हुने मह, कोदो, र फलफूलको उचित व्यवस्थापन र बिक्रीबाट विद्यालयले केही आम्दानी गर्ने लक्ष्य लिएको छ । “हामी विद्यालयलाई आत्मनिर्भर बनाउन चाहन्छौं । शिक्षण गतिविधिमा आउने खर्चलाई कम गर्न र विद्यार्थीका लागि अतिरिक्त स्रोत जुटाउन पनि यो कार्यक्रम उपयोगी हुने उनले बताएका छन् ।
स्थानीय अभिभावक, वडाअध्यक्षदेखि शिक्षाप्रेमी समुदायले विद्यालयको यो प्रयासलाई साराहनीय मानेका छन् । सामुदायिक विद्यालयहरूलाई गुणस्तरिय बनाउने प्रयासका रूपमा यो पहल प्रेरणादायी मोडेल बन्न सक्ने उनीहरूको विश्वास छ ।
बाल शिक्षा माविको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले सिकाइलाई सैद्धान्तिक मात्र होइन, व्यवहारिक बनाउने बाटो खोलेको छ । यो कार्यक्रमले विद्यार्थीमा आत्मनिर्भरता, श्रमको सम्मान र जीवनोपयोगी सीप विकास गर्ने अवसर दिएको छ ।