कुवेत सरकारले ३७ हजार जनाभन्दा धेरैको नागरिकता रद्द गर्यो

एजेन्सी जेठ १२-, कुवेत सरकारले ३७ हजार जनाभन्दा धेरैको नागरिकता रद्द गरेको छ । कुवेती सरकारले गएको वर्षको अगस्ट देखि ३७ हजाभन्दा धेरै मानिसको नागरिकता रद्द गरेको र यसमा २६ हजार महिला रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कुवेतको यो कदमलाई लिएर मानव अधिकार समूहहरू र क्षेत्रीय विश्लेषकहरूले व्यापक आलोचना गरेका छन् । प्रभावित हुनेहरूमा धेरैजसो आप्रवासी महिलाहरू छन्, उनीहरूले विवाहमार्फत नागरिकता प्राप्त गरेका थिए ।
यो कदमलाई अमिर शेख मेशाल अल–अहमद अल–सबाहको सुधारवादी एजेन्डाको एक हिस्साका रूपमा वर्णन गरिएको छ, यसको उद्देश्य कुवेतसँग रगतको सम्बन्ध भएकाहरूलाई मात्र नागरिकता प्रदान गर्नु रहेको खबरमा उल्लेख छ ।
सन् २०२३ को डिसेम्बरमा सत्ता सम्हालेपछि अमिर शेख अल–सबाहले राष्ट्रिय शुद्धीकरणलाई लक्ष्यका रूपमा उल्लेख गर्दै संसद् विघटन गर्नुभएको छ रसंविधानका केही भागहरू निलम्बन गर्नुभएको छ ।
सन् १९८७ देखि हजारौं महिलाहरूलाई विवाहमार्फत नागरिकता प्रदान गरिएकोमा अहिले खारेज भइरहेको छ । नागरिकता खारेजीबाट प्रभावित व्यक्तिहरूले कानूनी अनिश्चितताको सामना गरिरहेका छन् । उनीहरूको बैंक खाताहरू फ्रिज भइरहेका, पेन्सन रोकिएका र पहिचान गुमाउनुको पीडा स्पष्ट हुँदै गइरहेको खबरमा उल्लेख छ ।