कोहलपुर प्रहरीको ठूलो सफलता : १९ किलो अफिम र नक्कली नोट बरामद

कोहलपुर असार ३१- कोहलपुर र आसपासका क्षेत्रहरू पछिल्लो समय लागुऔषध प्रयोग र ओसारपसारको केन्द्र बन्दै गएको स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूले बारम्बार उठाउँदै आएका छन्। यही सन्दर्भमा आज कोहलपुर प्रहरीले ठुलो सफलता हात पारेको छ।  लागुऔषध कारोबार र नक्कली नोटको कारोबारमा संलग्न रहेका दुई जनालाई पक्राउ गर्दै ठूलो परिमाणमा अफिम र नक्कली नेपाली रुपैयाँ बरामद गर्न सफल भएको हो ।

प्रहरीका अनुसार, कोहलपुर नगरपालिका–११ स्थित जनगर्जन नेटवर्क प्रालिको कार्यालयमा लुकाई राखिएको अवस्थामा १९ किलो अफिम र नेपाली एक हजार रुपैयाँ दरका ५१ थान नक्कली नोट फेला परेको छ।

उक्त कार्यालयबाट कालिकोट घर भई आफूलाई पत्रकारको रूपमा चिनाउने मान बहादुर साकारलाई पक्राउ गरिएको हो। साथै, रुकुम पूर्वको बाँफिकोट गाउँपालिका–१० की सपना पुन पनि घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकी छन् । पुन भरियाको रूपमा लागुऔषध ओसारपसारमा संलग्न भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ, तर अनुसन्धानपछि मात्र यथार्थ जानकारी सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

यो अपरेसनमा सुर्खेतबाट खटिएको प्रहरी अनुसन्धान ब्युरोको टोलीले विशेष सूचनाका आधारमा कोहलपुर–११ मा रहेको जनगर्जन नेटवर्क प्रालिमा छापा मारेको थियो । प्रहरी टोली कार्यालय पुगेपछि प्रारम्भिक रूपमा सामान्य अवस्था देखिए पनि गहिरो खोजी गर्दा लुकेको अवस्थामा अवैध लागुऔषध अफिम र नक्कली नोट फेला परेको हो ।बरामद सामग्रीसहित दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार, कोहलपुरमा लक्ष्मी खनाल प्रहरी प्रमुखको रूपमा आएयता यो सबैभन्दा ठूलो सफलता हो । लागुऔषधको कारोबार, नक्कली नोटको चलन र आपराधिक गिरोहको गतिविधिबाट त्रस्त कोहलपुरवासीका लागि यो कारवाहीले केही राहत दिने अपेक्षा गरिएको छ । खनालको नेतृत्वमा प्रहरी सक्रिय हुँदै गएको र पछिल्ला दिनहरूमा गोप्य सूचनाका आधारमा निरन्तर निगरानी तथा अनुसन्धान भइरहेको बताइएको छ।

यस प्रकारको कारवाहीले कोहलपुर तथा आसपासका क्षेत्रमा फैलँदो लागुऔषध दुव्र्यसन, आपराधिक गतिविधि र नकली मुद्रा कारोबारजस्ता समस्याहरूसँग लड्न प्रहरी प्रशासन गम्भीर रहेको सन्देश दिएको छ। साथै, पत्रकारजस्तो संवेदनशील परिचय बोकेका व्यक्तिले आपराधिक कार्यमा संलग्न भएको तथ्यले प्रेस जगतमा पनि गम्भीर प्रश्न उठाएको छ । स्थानीय तह, समाजसेवी, अभिभावक र युवाहरूले पनि प्रहरीको प्रयासमा सहयोग गर्दै लागुऔषधमुक्त समाज निर्माणमा जुट्नुपर्ने आवश्यकता प्रहरी अधिकारीहरूले औंल्याएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर