बाढीको पूर्वसूचना दिने साइरन जडान, गाउँलेहरू ढुक्क

कोहलपुर असार १७ — मनसुन सुरु भएसँगै राप्ती नदीको आसपासका बासिन्दालाई बाढीको जोखिमबाट बचाउन बाँके जिल्लाको नरैनापुर गाउँपालिकाका चार ठाउँमा बाढीको सूचना दिने साइरन जडान गरिएको छ।
गाउँपालिकाका विपद् शाखा प्रमुख भरत महतोका अनुसार वडा नं. ५ को मटेहिया, वडा नं. ६ को भगवानपुर, सोनवर्षा र गङ्गापुरमा स्वचालित साइरन जडान गरिएको हो। राप्ती नदीमा पानीको सतह खतराको सीमाभन्दा माथि पुगेपछि साइरन आफैँ बज्ने व्यवस्था गरिएको छ। साथै, खतराको सूचना मोबाइल एसएमएसमार्फत पनि पठाइने छ।
बाढीले विगतमा सबैभन्दा बढी क्षति पु-याउँदै आएको वडा नं. ५ र ६ का बासिन्दाले अब समयमै सूचना पाउने भएपछि आफूहरू ढुक्क भएको बताएका छन्।
करीब २८ लाख रुपैयाँ खर्चेर नरैनापुर गाउँपालिका र सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको सहयोगमा यी साइरन जडान गरिएका हुन्। गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले २०७१ सालको बाढीले कैयौँ परिवारलाई घरविहीन बनाएको स्मरण गर्दै अहिलेको पूर्वसूचना प्रणालीले ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो।
एसडिएफ बाँकेका अध्यक्ष चम्पसिंह थापा मगरले अब वर्षामा पनि गाउँलेहरू ढुक्कसँग निदाउन सक्ने अवस्था आएको बताउनुभयो।
यस प्रयासले बाढीको जोखिम कम गर्न र जनधनको सुरक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।