बाँकेको बैजनाथमा जिल्लाकै पहिलोपटक ई-पालिका सेवा सुरु

कोहलपुर असार २०- बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलोपटक आधुनिक प्रविधिमा आधारित “ई-पालिका सेवा” सुरु गरेको छ। अब पालिकाका कामहरू डिजिटल प्रणालीमार्फत छिटो, सजिलो र पारदर्शी ढंगले हुनेछन् ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले एक कार्यक्रमबीच नयाँ प्रतीक्षालय भवनको उद्घाटन गर्दै ई(पालिकाको सेवा औपचारिक रूपमा सुरु गर्नुभयो ।  यस सेवा सञ्चालनका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ खर्चेर एसीसहितको प्रतीक्षालय भवन र शौचालय बनाएको छ । साथै, १७ लाख रुपैयाँ बराबरका कम्प्युटर, उपकरण र अन्य आवश्यक प्रविधि सामग्रीहरू खरिद गरेर सेवा सुरु गरिएको हो ।

सेवाग्राहीले पालिकामा घण्टौं लाइन बस्नुपर्ने छैन । टोकन प्रणाली लागू गरिएको छ जसले पालिकाको काम गर्न सहज बनाउनेछ। त्यस्तै, वडा कार्यालयबाट पाइने सिफारिसहरू समेत अब अनलाइनमार्फतै पाउन सकिने व्यवस्था मिलाइएको छ। नागरिकका गुनासो सजिलै बुझ्न र समाधान गर्न गाउँपालिकाले “हेलो अध्यक्ष” नामक सेवा पनि सुरु गरेको छ । यो सेवा निशुल्क टोल फ्री नम्बरबाट प्रयोग गर्न सकिनेछ ।

सेवा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । अध्यक्ष शाहीका अनुसार, यो सेवा अन्य पालिकाहरूका लागि उदाहरण बन्ने विश्वास गरिएको छ। आगामी दिनमा थप प्रविधिमैत्री सेवा थप्ने योजना पनि रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर