अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

कोहलपुर असार २७-, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीबार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको हातमा जग्गाको लालपुर्जा पुर्याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ ।” मुख्यमन्त्री आचार्यले भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना रहेको बताउँदै सोही अनुसार काम अघि बढेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बर्सौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले अव्यवस्थित बसोबासीले उठाएका समस्या समाधान गर्न प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।