जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

एजेन्सी असार २७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् ।
सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले हिजो सुनुवाइपछि प्रारम्भिक अन्तरिम आदेश जारी गर्दै कार्यकारी आदेशलाई तत्काललाई रोक लगाउने निर्णय सुनाउनुभएको समाचार संस्था एपीले जनाएको छ । साथै उहाँले यस विषयमा सामूहिक मुद्दा दर्ता गर्ने आदेश पनि दिनुभएको छ ।
अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा सात दिनको रोक लगाएको छ । यो अवधिमा आदेशविरुद्ध अपील गर्न सकिनेछ । यस फैसलाले जन्मसिद्ध नागरिकताको मुद्दालाई छिट्टै सर्वोच्च अदालतसम्म पुर्याउने बाटो खोलिदिएको छ ।
सर्वोच्च अदालतले केही हप्ताअघि जिल्ला अदालतहरूलाई राष्ट्रव्यापी अन्तरिम आदेश जारी गर्न सीमित गर्न सकिने निर्णय सुनाएको थियो । तर सामूहिक मुद्दाको माध्यमबाट त्यही प्रभाव पार्न सकिने सम्भावनालाई भने खुला राखिएको थियो ।
विवादको केन्द्रमा अमेरिकी संविधानको १४औं संशोधन छ जसमा संयुक्त राज्यमा जन्मिएका वा नागरिकता प्राप्त गरेका र त्यहाँको अधिकार क्षेत्रभित्र पर्ने सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुन् भनिएको छ । तर ट्रम्प प्रशासनले अधिकार क्षेत्रभित्र पर्ने भन्ने वाक्यांशको अर्थ यस्तो व्यक्तिमा लागू नहुने दाबी गर्दै आएको छ ।