पूर्व श्रीमानको रिसइवीमा आमाको हत्या, बुबाको गिरफ्तारी, दुई सन्तान बिचल्ली

प्युठान असार ३१- प्युठानमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। पूर्व श्रीमानले आफ्नै पूर्व पत्नीको चक्कु प्रहार गरी हत्या गरेका छन्। हत्या पछाडि वैवाहिक विग्रह र रिसइवीको कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जेठानीकै घरमा घट्यो घटना
सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बराललाई उनका पूर्व पति लिलबहादुर बरालले मङ्गलबार बिहान हत्या गरेका हुन्। घटना बिहान करिब १० बजेर १० मिनेटतिर भएको हो।
रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरेर बोलाएका थिए। उनी घरभित्र पसेपछि केहीबेरमै रुक्मणीमाथि चक्कु प्रहार गरेका थिए।
“मैले कराएँ, नहानु भनेँ, तर उहाँले मानेनन्। आँखै अगाडि चक्कु हान्नुभयो। जति हारगुहार गरे पनि रोक्न सकिएन,” डिलाले आँखा रसाउँदै भनिन्।
३० वर्षीय लिलबहादुर बराल हालै मात्र, अर्थात् असार २४ गते इजरायलबाट घर फर्केका थिए। रुक्मणीले करिब दुई महिनाअघि, वैशाखमा दीपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दीपक हाल रोजगारीको सिलसिलामा सङ्खुवासभा गएका छन्। रुक्मणी र लिलबहादुरबाट जन्मिएका एक छोरा र एक छोरी नाबालक छन्, जसको भविष्य अब अन्योलमा परेको छ।
घटनाको जानकारी पाएलगत्तै बड्डाडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर लिलबहादुरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार अभियुक्तलाई घटनास्थलमै नियन्त्रणमा लिइएको हो।
“घटनास्थल सुरक्षित गरिएको छ र अभियुक्त प्रहरीको नियन्त्रणमा छन्,” डीएसपी बस्यालले भने, “प्रारम्भिक अनुसन्धान अनुसार यो हत्या पूर्व वैवाहिक सम्बन्धबाट उत्पन्न रिसइवीका कारण भएको देखिन्छ ।
एकातिर आमाको हत्या, अर्कोतिर बुबा प्रहरी नियन्त्रणमा भएपछि रुक्मणीका दुई नाबालक छोराछोरी पूर्णरूपमा बेसहारा बनेका छन्। स्थानीयहरूका अनुसार सन्तानको हेरचाह कसले गर्ने भन्ने विषयमा अहिले अन्योल छ ।
यो घटना नेपालमा बढ्दो घरेलु हिंसा र पारिवारिक विग्रहको एउटा दुखद् उदाहरण हो। सम्बन्ध विच्छेदपछि पनि व्यक्तिगत रिसइवी, ईर्ष्या र असहिष्णुताको परिणामस्वरूप ज्यानै जाने अवस्था आउनु गम्भीर चिन्ताको विषय हो । विशेषज्ञहरू भन्छन्, “ऐस्ता घटनाबाट बच्न समाजले भावनात्मक बुद्धिमत्ता, कानुनी सचेतना र आपसी सहिष्णुता विकास गर्न जरुरी छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक प्रमाण संकलन, शव परीक्षण र कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ ।