भेरी अस्पतालमा १,००० भन्दा बढी घुँडाको जटिल शल्यक्रिया सफल

कोहलपुर साउन २  – भेरी अस्पताल नेपालगन्जमा १,००० भन्दा बढी बिरामीको जटिल प्रकारको घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। पहिला यस्तो प्रकारको उपचारका लागि बिरामीहरूलाई काठमाडौँ वा भारत जानुपर्ने अवस्था रहन्थ्यो। तर पछिल्ला वर्षहरूमा भेरी अस्पतालकै दक्ष चिकित्सकहरूको टोलीले यी शल्यक्रिया स्थानीय रूपमा सफलतापूर्वक गरिरहेका छन् ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा. प्रकाश थापाका अनुसार, अहिलेसम्म १,१११ जना बिरामीको एसीएल (ACL) र पीसीएल (PCL) नशा सम्बन्धी शल्यक्रिया सफलतापूर्वक गरिएको छ। यस कार्यमा डा. थापासहित डा. तिर्थेन्द्र खड्का र डा. शैयद सद्दामको सक्रिय भूमिका रहँदै आएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पताललाई विशेष सेवा दिने संस्थाका रूपमा विकास गर्दै अत्याधुनिक उपकरण र सेवा थपिने क्रम जारी रहेको जानकारी दिनुभयो । डा. डक्टप्रसाद धितालका अनुसार, भेरी अस्पतालले बाँके, बर्दिया, दाङ, कैलालीलगायत क्षेत्रका बिरामीलाई राजधानी वा विदेश जानुपर्ने बाध्यताबाट क्रमशः मुक्त गराउँदै छ ।

पछिल्लो समय नरैनापुर गाउँपालिका–२ का १८ वर्षीय शैयद नुर आयानको घुँडाको जटिल शल्यक्रिया सफल भएको छ। १६ दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका आयानको दायाँ घुँडाको दुई वटा नशा (ACL र PCL) भाँचिएको थियो । शल्यक्रियापछि आयानको अवस्था सामान्य रहेको छ। उनका पिता तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले यस्तो उपचार सुविधा नेपालगन्जमै उपलब्ध हुनु यस क्षेत्रका लागि “अति नै शुभ संकेत” भएको बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर