किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण

कोहलपुर  साउन २ गते – बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई आफ्ना कृषि उपज सजिलै बजारसम्म पुर्‍याउन सहयोग पुगोस् भनेर ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा वितरण गरेको छ।

पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई यो रिक्सा वितरण गरिएको हो। आर्थिक वर्ष २०८१/८२ का लागि छुट्याइएको ३० लाख रुपैयाँ बजेटबाट यी रिक्साहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उत्पादन भएको तरकारी र खाद्यान्न सजिलै बजार लैजान सकियोस् भन्ने उद्देश्यले ई-लोडिङ रिक्सा दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार अब किसानलाई उत्पादन बिक्रीका लागि ढुवानीको समस्या रहने छैन।

कार्यक्रममा अध्यक्ष शाहीले आफूहरू निर्वाचित भएपछि ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ नियमितरूपमा सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै हरेक वर्ष ठूलो बजेट विनियोजन गर्दै आएको पनि उल्लेख गर्नुभयो।

गाउँपालिकाको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानहरूले रिक्साको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वितरण प्रक्रिया पारदर्शी र चरणबद्ध ढंगले गरिएको पनि बताउनुभयो।

रिक्सा पाएका किसानहरू खुशी देखिन्थे। उनीहरूले पालिकाले सुरु देखिनै कृषि क्षेत्रको विकासमा जोड दिएको बताए।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कृषि शाखाका कर्मचारीहरू, सर्वसाधारण र किसानहरूको उपस्थिति थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर