२५ वर्षको पर्खाइ : न लालपुर्जा, न पहिचान

कोहलपुर साउन २- कमैया मुक्त भइयो भनेर बजाईएका डम्फु र मादलको आवाज त हरायो, तर हाम्रो पीडा अझै बाँकी छ ।यो भनाइ हो, दाङको घोराही उपमहानगरपालिका–१६ मा बस्दै आएका बाबुराम चौधरीको । २०५७ साल साउन २ मा सरकारले कमैयामुक्तिको घोषणा गर्यो । बाबुरामले त्यो दिनलाई जीवनको सबैभन्दा ठूलो खुसीको दिन माने। लाग्यो, अब जिन्दगी फेरिन्छ। तर त्यो खुसी २५ वर्षसम्म पनि लालपुर्जामा रुपान्तरण हुन सकेको छैन ।
उहाँको बस्तीमा ५२ मुक्त कमैया परिवार बसोबास गर्छन्। तीमध्ये ८ परिवारले मात्र लालपुर्जा पाएका छन् — त्यो पनि बगरको जमिन। जहाँ खेती हुन्न, घर बस्न डर लाग्छ ।
दुःखको कुरा त के छ भने, बाबुराम र उहाँजस्तै सयौँ परिवारसँग अहिलेसम्म कमैयाको परिचयपत्र नै छैन । परिचयपत्र बिना सरकारी सेवामा नाम छैन। राहत छैन। स्वास्थ्य सेवा छैन। ऋण लिन सकिन्न। आत्मसम्मान त झनै गुमेको छ । रूपलाल चौधरी भन्छन्, “परिचयपत्र नपाएको कारणले हामीलाई राज्यले मान्य नै गरेको छैन जस्तो लाग्छ।”
गणेशराम चौधरी थप्छन्, “सरकारले बत्ती त दियो, तर हामीले उज्यालो अझै देख्न पाएका छैनौँ ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार देशभर ३२ हजार ५०९ जना कमैयाले परिचयपत्र पाइसकेका छन् । तर अझै १० हजारभन्दा बढी मुक्त कमैया यस्ता छन्, जसले अहिलेसम्म आफू मुक्त भएको प्रमाणपत्र पनि पाएका छैनन्। परिचयपत्र पाएका मध्ये पनि ४,९३९ परिवार अहिले पनि लालपुर्जा बिना बसिरहेका छन् ।
सरकारले घोषणा मात्र गरेर होइन, व्यवहारमा मुक्त कमैयालाई स्वतन्त्र नागरिक बनाउनु पर्छ । दुई कट्ठा जमिनको लालपुर्जा मात्र होइन, हाम्रो पहिचान, सम्मान र भविष्यको प्रत्याभूति पनि चाहिएको छ, बाबुरामले भावुक हुँदै भन्नुभयो ।