मधेशसहित पाँच प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ असार ४, – अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा सक्रिय रहेको छ । देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । यस्तै राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको पनि अनुमान रहेको महाशाखाले जनाएको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाण्डौसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर पूर्व, नवलपुर पश्चिम र चितवनमा भने बाढीको जोखिम अलि धेरै रहेको महाशाखाको सूचनामा उल्लेख छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर