भेरी अस्पताल संकटमा, बिमा रकम रोकिँदा सेवा अवरुद्ध हुने अवस्था

कोहलपुर असार ३०-  पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल अहिले गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्न ढिलाइ गरेपछि अस्पतालका नियमित सेवा नै रोकिन सक्ने खतरा देखिएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बोर्डले भेरी अस्पताललाई चालु आर्थिक वर्षमा झन्डै २० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने थियो। तर, हालसम्म करिब ३ करोड ७० लाख रुपैयाँ मात्र पठाइएको छ। अघिल्लो वर्षको रकममध्ये पनि केही समयअघि मात्रै ८१ लाख रुपैयाँ मात्र आएको उनले जानकारी दिए।

बक्यौता रकम नआएकाले अस्पतालको आर्थिक व्यवस्थापनमा ठूलो समस्या आएको छ। अस्पतालले चाहिने अत्यावश्यक औषधि, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस सेवा र क्याथ ल्याबमा प्रयोग हुने रसायनहरू खरिद गर्न नसक्ने स्थिति आएको छ। अझ, आपूर्तिकर्ताहरूलाई पनि एक वर्षदेखि रकम तिर्न नसकिएको र अहिले उनीहरूबाट पनि उधारोमा सामान पाउन गाह्रो भइरहेको अस्पतालले बताएको छ।

“व्यापारीहरूले अब बिना भुक्तानी औषधि र सामग्री दिन सक्दैनन्,” डा. सुवेदीले भने, “हामीलाई १६ करोडभन्दा बढी रकम बिमा बोर्डबाट लिनु छ, तर त्यो नआउँदा अस्पताल सञ्चालनमै समस्या भएको छ।”

भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले पनि अस्पतालको अवस्था गम्भीर बन्दै गएको बताए। सरकारले अनिवार्य रूपमा लागू गरेको बिमा कार्यक्रम आफैंले ठीकसँग कार्यान्वयन गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए। “सरकारले समयमै रकम नदिने हो भने बिमा नै हटाउनु राम्रो,” उनले भने, “नत्र भने नियमित भुक्तानी गरेर अस्पताललाई संकटमा पार्न हुँदैन।”

अस्पताल प्रशासनले स्वास्थ्य सेवा निरन्तर राख्न सरकारले तुरुन्त ध्यान दिनुपर्ने माग गरेको छ। रकम अभावका कारण भेरी अस्पतालको महत्वपूर्ण सेवा अवरुद्ध हुने स्थितिमा पुगेको भन्दै सम्बन्धित निकायको चासो आवश्यक भएको उनीहरूको भनाइ छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर