नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद बस्यालको दुर्घटनामा निधन

बर्दिया असार ३० – नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल ‘राकेशको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
बस्याल मधुवन नगरपालिका–८ स्थित गणेशचोक नजिक हुलाकी सडकखण्डमा दुर्घटनामा परेका हुन्। कुसुम्बाबजारबाट गुलरिया आउँदै गर्दा उनी चढेको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकलको पछाडि सवार बस्याल गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनलाई तत्काल बर्दिया अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल, नेपालगञ्ज लगिएको थियो। तर, उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए। मोटरसाइकल चालक विष्णु पौडेलको अहिले बर्दिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्व. बस्याल लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। उनले नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष भएर दुई कार्यकाल काम गरेका थिए। त्यसपछि महासंघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। बर्दियाबाट पत्रकारिता सुरु गरेका बस्याल काठमाडौँमा बसेर रेडियो नेपाललगायतका सञ्चार माध्यममा समेत कार्यरत थिए।
उनको असामयिक निधनले पत्रकारिता क्षेत्र शोकमा परेको छ।