राप्तीका तीन वटा वडाका केही क्षेत्रमा शिल
तिर्थराज ज्ञवाली
देउखुरी, ११ भदौ ।
राप्ती गाउँपालिका विपद ब्यवस्थापन समितिले सरोकारवालाहरुसंग छलफल गरेको छ । सरोकारवालाको बैठकले राप्तीका ३ वटा वडामा पर्ने गाउँहरुलाई शिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरना भाईरसको संक्रमण समुदायमा बढ्न सक्ने भएकोले सम्भावीत संक्रमणको जोखीम क्षेत्रलाई शिल गर्ने निर्णय गरेका गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । केहि दिन पहिले कोरना संक्रमित भेटिएका गाउँमा थप संक्रमणको अवस्थालाई रोक्न राप्ती गाउँपालिकाले क्राईसेस म्यानेजमेन्ट कमिटिको बैठकबाट यस्तो निर्णय गरेको हो । राप्ती गाउँपालिकाको वडा नं १, ४ र ८ नं वडाका भालुवाङ, पुल्चोक बजार क्षेत्र, पुरानो बजार, पाखापानी, कोहलुवा, बुडिचौर, मौरिघाट गाउँलाई १२ गते राति बाट अर्को सुचना नगर्दा सम्मलाई पुर्ण रुपले प्रहरी प्रशासनको सहयोगमा शिल गरि आवत जावत बन्द गर्ने तथा अटेर गर्नेलाई नियन्त्रणमा लिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए । साथै गाउँपालिका क्षेत्रमा यातायातका सवारी साधन समेत बन्द गर्ने निर्णय गरिएको छ ।
क्राईसेस म्यानेजमेन्ट कमिटिको निर्णय अनुसार सबै खाले बस, टेम्पु, माईक्रो, टेक्टर लगायत सबै सवारी साधन पुर्ण रुपले बन्द गरिने निर्णय भएको छ । अत्यावस्यक एम्वुलेन्स भने सहि कारण सहित सञ्चालनमा आउन सक्ने समेत प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।
राप्ती गाउँपालिकाको क्षेत्रमा पछिल्लो समयमा पुनंः कोरना संक्रमितको संख्या देखीन थालेको र सो संक्रमण समुदायमा समेत छिरेको सम्भावनाका कारण गाउँपालिकाले बन्दाबन्दीको निर्णय लिनु परेको हुदा कार्यालयको सेवा समेत अर्को सुचना नहुदासम्मको लागि स्थगित गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दिको अवस्थालाई निरन्तरता दिन विद्यालय पुर्ण रुपले हाललाई बन्द राख्ने अनुरोध गरेको र राप्तीमा स्वास्थ्य सेवा लाई सावधानीका साथ सञ्चालनमै राख्ने समेत निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । राप्ती गाउँपालिकामा केहि दिन पहिले ३ जनामा कोरोना संक्रमण देखीएको र ति तिन जना होम क्वारेन्टाईनमा बस्दै आएकोमा चेकजाच पुर्व लापरवाहका साथ बाहिर निस्किएको जनाईएको छ ।