भूकम्पको एक दशक : बारपाकमा पीडा अझै ताजै, विकासले दिएको आशा

गोरखा, वैशाख १२ – २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज एक दशक पुगेको छ। १० वर्षअघिको त्यो भीषण भूकम्पले पुर्याएको क्षति र त्यसले बारपाकबासीमा छाडेको मानसिक चोट अझै पूर्णरूपमा मेटिएको छैन।
भूकम्पमा आफ्नी सात वर्षीया भदैनी गुमाएकी ६२ वर्षीया धनमाया गुरुङका लागि वैशाख १२ एक दुःखद स्मृतिको दिन बनेको छ। ूभदैनी घरमै खेलिरहेकी थिइन्, अनि घर भत्किएर लग्यो,ू उनले आँखा रसाउँदै भनिन्।
३४ वर्षीया डोलमाया घले भूकम्पको त्रास अझै बिर्सन सक्नुभएको छैन। “गाडीको आवाजमा पनि भूकम्पको डर लाग्छ,” उनले बताइन्। त्यस्तै, ७७ वर्षीया प्याली घलेलाई प्रत्येक सानो परकम्पले अझै पनि पहिलेकै भय झल्काउने गरेको छ।
५५ वर्षीया कमला गुरुङले भने, “त्यो दिन हामी बारीमा थियौं। एक्कासी जमिन हल्लिन थाल्यो, गाउँ धुलोको मुस्लोले ढाकियो।” उनको भनाइमा अहिले घर त पुनर्निर्माण भएको छ, तर त्यो दिनको मानसिक घाउ भने अझै निको भएको छैन।
बारपाकमा भूकम्पका कारण ७२ जनाको ज्यान गएको थियो भने झण्डै १५०० घरमा क्षति पुगेको थियो। भूकम्पपछि बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ। स्थानीय जीतबहादुर घलेका अनुसार, “भूकम्पले विनाश त गर्यो, तर त्यसले विकासको ढोका पनि खोल्यो। अब हामीसँग सडक, बिजुली, खानेपानी जस्ता सुविधा छन्।”
पुनर्निर्माणको क्रममा परम्परागत ढुंगामाटोका घरहरू हटेर इँटा र सिमेन्टका पक्की घर बनेका छन्। भूकम्पपीडितको सम्झनामा स्मृति स्तम्भ पनि निर्माण गरिएको छ।
बारपाक अहिले अतीतको पीडा बोकेको, तर आशाको नयाँ यात्रा तय गरिरहेको बस्ती बनेको छ। बासिन्दाहरू अझै पनि त्यो दिन सम्झेर भावुक हुन्छन्, तर उनीहरूमा भविष्यप्रतिको विश्वास र अठोट पनि बलियो बनेको देखिन्छ।
दश वर्षपछि बारपाकको पुनर्निर्माण यात्रा नेपालको विपद् व्यवस्थापन र स्थानीय पुनःउत्थानको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।