लुम्बिनीलाई विश्वको आध्यात्मिक केन्द्र बनाउने सरकारको प्रतिबद्धता — मन्त्री पाण्डे

कोहलपुर, वैशाख १३ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको केन्द्रको रूपमा विकास गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकारको योजना र प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो। उहाँले विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरु योजनालाई आधार मानेर रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवाजस्ता ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
मन्त्री पाण्डेले स्थानीय समुदायको अपनत्व, प्रकृति र विकासको सन्तुलन तथा बौद्ध धर्मावलम्बीको मर्मको सम्मान गर्दै लुम्बिनीको समग्र प्रवर्धन आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव उ थान्को सोच आत्मसात् गर्दै लुम्बिनीको विकासका लागि गठन भएको १६ राष्ट्रको अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउन यो वर्ष भित्रै बैठक बोलाउने योजना रहेको जानकारी दिनुभयो। साथै, लुम्बिनी विकास कोषको ऐनमा संशोधन गरिने पनि जानकारी दिनुभयो।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा थाईल्याण्ड, कम्बोडिया, चीनसहित ५० देशका भिक्षु र बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको छ।