एपिएफले उचाल्यो लुम्बिनी कप उपाधि

कोहलपुर वैशाख १२ – सशस्त्र प्रहरीको एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि कब्जा गरेको हो।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको इन्जुरी समयको नवौं मिनेटमा एपिएफकी गीता रानाले निर्णायक गोल गर्दै टिमलाई जित दिलाइन्। लगातार तीन कर्नरपछि आएको तेस्रो कर्नरमा उनले हेडमार्फत गोल गरेकी थिइन्।
यस जितसँगै एपिएफले इलाम र चितवनपछि लगातार तेस्रो पटक लुम्बिनी कपको उपाधि उचाल्न सफल भएको छ। उपाधिसँगै क्लबले नगद ५ लाख ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको नेपाल पुलिस क्लबले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
फाइनल खेलपछि आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनमा पनि एपिएफकै दबदबा देखिएको छ। एपिएफकी अनिता बस्नेत सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने गीता राना उत्कृष्ट डिफेन्डर र फाइनल खेलकी प्लेयर अफ द म्याच समेत घोषित भइन्। अन्य विधामा पनि एपिएफका खेलाडीहरू उत्कृष्ट घोषित भए भने पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर घोषित भइन्।
प्रतियोगितामा एपिएफले कर्णाली प्रदेश र रौतहट जिल्ला फुटबल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पुलिस क्लबले भारतको सिलगुडी एफसी र त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
लुम्बिनी कप प्रतियोगिता यही वैशाख ५ गतेदेखि नेपालगन्जमा सुरु भएको हो। प्रतियोगिताको आयोजना अन्तरालले बाँके जिल्ला फुटबल संघको सहकार्यमा गरेको हो, जसमा आठ टिमले सहभागिता जनाएका थिए।