कोहलपुरमा डिएसपी लक्ष्मी खनालको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कोहलपुर जेठ ५ – कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा इलाका प्रहरी कार्यालय, कोहलपुरमा हालै नियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा संघका पदाधिकारी, व्यापारी, स्थानीय अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि डिएसपी खनालले कोहलपुर क्षेत्रको शान्ति सुरक्षालाई सुदृढ बनाउँदै समुदायसँग सहकार्यमा आधारित प्रहरी सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“समुदायसँगको समन्वय बिना शान्ति सुरक्षा सम्भव हुँदैन,” उनले भनिन्, “कोहलपुरलाई अपराधमुक्त, सुरक्षित र अनुशासित नगर बनाउनु हाम्रो लक्ष्य हो। व्यापारिक क्षेत्रका व्यवसायीहरू चोरीजस्ता घटनाबाट पीडित नहोऊन् भन्ने हाम्रो प्राथमिकता हुनेछ। त्यसका लागि नागरिक, व्यापारी र सरोकारवालाहरूको सक्रिय साथ आवश्यक छ।”
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले डिएसपी खनाललाई स्वागत गर्दै भने, “शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन र व्यापारिक समुदायबीच सशक्त समन्वय हुन जरुरी छ। चोरी, ठगीजस्ता घटनाले व्यवसायीलाई मर्कामा पार्ने भएकाले यस्ता गतिविधिमाथि कडा निगरानी रहोस् भन्ने हाम्रो अपेक्षा छ।”
संघका पूर्वअध्यक्ष लक्ष्मणराज पौडेलले डिएसपी खनालको कार्यकुशलता र नेतृत्व क्षमताप्रति विश्वास व्यक्त गर्दै, कोहलपुरलाई अझ सुरक्षित र व्यवस्थित नगर बनाउन उनको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यापारी, महिला समूह तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।