दाङमा श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु

तुलसीपुर, ३१ बैशाख ।
दाङमा श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–७ हल्दी निवासी ५० वर्षीया संगीता सुनारी मगरले आफ्नै श्रीमान ६५ वर्षीय पुनाराम सुनारी मगरको चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई सोमबार राति नै प्रहरीले पक्राउ गरिसकेको छ ।
संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।