राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल बन्ने

दाङ जेठ २० — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा चार सय शय्याको आधुनिक अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। सरकारले आर्थिक वर्ष २०८२र०८३ को बजेटमा अस्पताल भवनका लागि ७० करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण कार्य सुरु गर्न लागिएको हो।
प्रतिष्ठानसँग अघिल्लो वर्षको १७ करोड मौज्दात रकम जोड्दा हाल कुल ८७ करोड रुपैयाँ उपलब्ध रहेको छ। प्रतिष्ठानका अनुसार चार सय बेडको भवन निर्माणका लागि करिब ४ अर्ब ५१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालका अनुसार आगामी साउन महिनाभित्रै टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ। घोराहीस्थित ट्राफिक चोकमा रहेको दुई बिघा जग्गामा भवन निर्माण गरिनेछ।
हाल प्रतिष्ठानले ३२२ बेड क्षमताको अस्पताल सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूको व्यवहारिक अभ्यासका लागि चार सय बेडको सुविधा आवश्यक रहेको र त्यसका लागि नयाँ भवन निर्माण अपरिहार्य भएको रजिस्ट्रार लम्सालले बताए।
प्रतिष्ठानमा हाल एमबिबिएस, बीएससी नर्सिङ, बीएनएस, र फार्मेसीका कार्यक्रम सञ्चालन भइरहेका छन्। आगामी आर्थिक वर्षदेखि बिएमएलटी, बिएमआइटी, बिपिएच, र बिअप्टोमेट्री कार्यक्रम सुरु गर्ने तयारी रहेको छ। हाल करिब २०० जना विद्यार्थी प्रतिष्ठानमा अध्ययनरत छन्।
प्रतिष्ठानले हाल फिजिसियन, सर्जन, प्रसूति, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक–कान–घाँटी लगायतका विशेषज्ञ सेवा दिँदै आएको छ। रजिस्ट्रार लम्सालका अनुसार आगामी वर्षदेखि मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याइनेछ।