कोहलपुरमा दुई पृथक सडक दुर्घटनामा दुई जनाको मृत्यु

कोहलपुर जेठ २२, — बाँकेको कोहलपुरमा बुधबार राति भएका दुई फरक सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।
पहिलो दुर्घटना कोहलपुर १३ हवल्दारपुर नजिक निर्माणाधीन सडक खण्डमा भएको हो। नेपालगञ्जबाट कोहलपुर फर्कँदै गरेका कोहलपुर–६ निवासी ३३ वर्षीय सरोज मरासिनीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो। भे ९ प ८१५७ नम्बरको मोटरसाइकलमा सवार मरासिनी राति करिब साढे १० बजे दुर्घटनामा परेका थिए।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका मरासिनीलाई शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो। मृतककी आमा शान्ता मरासिनीका अनुसार, निर्माणाधीन सडकमा गिट्टी छरिएको थियो र उचित संकेत नहुँदा तथा रातको समयमा दृश्यता कम भएकै कारण दुर्घटना भएको हुन सक्छ।
सरोज मरासिनी भारतको राजीव गान्धी युनिभर्सिटीबाट बी फार्मेसी अध्ययन पूरा गरेका फर्मासिस्ट थिए। उनी नेपालगञ्जस्थित रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रूपमा कार्यरत थिए। मिजासिला स्वभावका सरोजको असामयिक निधनले आफन्त र समुदायमा शोकको छाँया छाएको छ। लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले दुर्घटनामा परी मरासिनीको ज्यान जानु दुःखद भएको बताउँदै परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
त्यसैगरी, दोस्रो दुर्घटना कोहलपुरमा कार्यरत नेपाल टेलिकमका कर्मचारी ५७ वर्षीय चिरञ्जीवि अधिकारीको मृत्यु भएको हो। भे ११ प ९७५१ नम्बरको स्कुटीमा यात्रा गरिरहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अधिकारीसँगै स्कुटीमा सवार उनकी श्रीमती गीतादेवी घाइते भएकी छन्। उनको अहिले उपचार भइरहेको छ।
यी दुइटा घटनाले कोहलपुर क्षेत्रको सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएका छन्। स्थानीयबासीले निर्माणाधीन सडकमा पर्याप्त चेतावनी संकेत नराखिएको र रातको समयमा प्रकाशको अभाव रहेको गुनासो गरेका छन्।