स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु जेठ २० — कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटना आज बिहान सवा ८ बजे भएको हो। जामिया अहले सुन्नत नजिया स्कुलको बस महाराजगन्जतर्फ जाँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो।
मृत्यु भएकी बालिका शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमा बराइ रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो।
ठक्करबाट गम्भीर घाइते भएकी प्रतिमा बराइलाई तत्कालै कपिलवस्तु अस्पताल पुर्याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बसलाई प्रहरीको नियन्त्रणमा लिइएको छ भने बस चालक भने फरार रहेको छ। चालकको खोजी भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।