लुम्बिनीमा ‘ग’ वर्गका अपाङ्गता भएकाहरूलाई निःशुल्क स्वास्थ्य बीमा : नेपालगन्जको पहल

कोहलपुर असार ३ — लुम्बिनी प्रदेशमा पहिलोपटक ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ। नगरभित्रका १९२ परिवार यस योजनाअन्तर्गत बीमित भएका छन्।
उक्त बीमा कार्ड हस्तान्तरण समारोहमा नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मुजम्मिल हुसेन हलवाई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी र स्वास्थ्य बीमा बोर्डका बाँके जिल्ला संयोजक रमेश आचार्यलगायतको उपस्थिति रहेको थियो।
नगरप्रमुख विष्टले कार्यक्रममा बोल्दै राज्यबाट अपेक्षित सेवा सुविधा नपाउँदै आएका ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूको उपचारमा सहजता ल्याउन उपमहानगरले नै बीमा गरिदिएको जानकारी दिनुभयो। साथै, आगामी वर्षदेखि ‘अल्बिनो’ भएका व्यक्तिहरूको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने घोषणा गर्नुभयो। उहाँले नेपालगन्जलाई अपाङ्गमैत्री शहर बनाउने अभियान अन्तर्गत यस कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
उपप्रमुख राईले पनि कार्यक्रमको निरन्तरतामा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै सामाजिक न्याय र समावेशी सेवामा यस्ता कार्यक्रमको प्रभावकारीता महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।
महिला विकास अधिकृत आशाकुमारी शाहीले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूको बीमा भदौ १ गतेदेखि औपचारिक रूपमा लागू हुने बताउनुभयो।
स्वास्थ्य बीमा बोर्डका अनुसार पाँच जना सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्नेछ भने पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि ७ सय रुपैयाँ अतिरिक्त भुक्तानी लाग्नेछ। तर, अपाङ्ग, अति गरिब, ज्येष्ठ नागरिक, कुष्ठरोगी, टिबी, एचआइभी तथा एमडीआर संक्रमित बिरामी भएका घरपरिवारलाई बीमा शुल्कमा पूर्ण छुट दिइएको छ।
बीमाले पाँच जनासम्मको परिवारलाई एक लाख रुपैयाँ र परिवारको सदस्य संख्या अनुसार बढीमा दुई लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा दिने व्यवस्था गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको यो कदमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने आशा गरिएको छ, साथै प्रदेशभर अन्य स्थानीय तहलाई पनि यस्ता समावेशी कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिने सम्भावना छ।