नेपाल–भारत जमुनाहा नाकामा फेरि कोरोना परीक्षण सुरु, एकजनामा संक्रमण पुष्टि

कोहलपुर असार ३ — भारतमा फेरि कोरोना संक्रमणका केसहरू बढ्न थालेपछि नेपालगन्जस्थित नेपाल–भारत जमुनाहा नाकामा सतर्कता बढाइएको छ। संक्रमणको जोखिम बढेपछि स्वास्थ्य कार्यालय बाँकेले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूमाथि निगरानी कडा बनाउँदै शंकास्पदहरूमा कोरोना परीक्षण सुरु गरेको छ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, हालसालै भारतबाट फर्किएकामध्ये बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण पुष्टि भएको हो। थारू भारतको देहरादुनबाट फर्किएका थिए। आरडीटी परीक्षणमा संक्रमण देखिए पनि उहाँमा कुनै लक्षण नदेखिएको श्रेष्ठले जानकारी दिनुभयो।

लक्षण नदेखिएकाले थारूलाई मास्क लगाएर घरमै आइसोलेसनमा बस्न सल्लाह दिइएको छ। लक्षण देखा परेमा भेरी अस्पतालमा लगेर पीसीआर परीक्षण गरिने बताइएको छ।

भारतमा संक्रमण पुनः बढ्न थालेको सन्दर्भमा जमुनाहा नाकामा पुनः परीक्षण सुरु गरिनु स्वाभाविक रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। नाकाबाट दैनिक आवागमन हुनेको संख्या उच्च हुने भएकाले सतर्कता नअपनाउँदा संक्रमण पुनः फैलिन सक्ने जोखिम उच्च छ।

यसबारे स्थानीय बासिन्दा र यात्रुहरूलाई सावधानी अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। मास्कको प्रयोग, हात धुने बानी, भीडभाडमा नजानेलगायत सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराइएको छ।

यो घटनाले सीमा नाकामा कोरोना पुनः सक्रिय हुन सक्ने सङ्केत दिएको छ, जसले पुनः एकपटक स्वास्थ्य सतर्कता र निगरानीको आवश्यकता औंल्याएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर