महिला सशक्तिकरणका कुरा कागजमै सीमित नहोस्, माननिय अधिकारी

कोहलपुर असार ३– महिला सशक्तिकरणका कुरा कागजमै सीमित नगरार्ई त्यसलाई व्यवहारमै उतार्न लुम्बिनी प्रदेश सभा सदस्य माननिय बसन्ति अधिकारीले आग्रह गरेकी छिन् । महिलाका लागि प्रारम्भिक ३० दिने सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
महिलाको आर्थिक सशक्तीकरणमा सीपमूलक तालिमको भूमिका अत्यन्तै निर्णायक हुने स्पष्ट पार्दै उनले भनिन्, अहिले महिलाहरूले सिकेको सीप तालिमको कक्षाभित्र थुनिएरमा बस्न हुँदैन । त्यो सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको यात्रामा अग्रसर हुनुपर्छ ।
महिलाको विकास केवल सीप सिक्नमा होइन, त्यो सीपलाई उपयोग गरेर आयआर्जन गर्ने क्षमतामा निर्भर गर्छ । “अब समय आएको छ उनले भनिन् महिलाले आफ्नो हातमा रहेको सीपलाई उत्पादनमा रूपान्तरण गरी आफ्नै खुट्टामा उभिनु पर्ने बेला आएको छ । सीप, सोच, र साहसको मेलबाट महिलाहरू सफल उद्यमी बन्न सक्छन् ।
उनले महिला लक्षित यस्ता कार्यक्रमहरूलाई एकपटकको अवसर होइन, दीर्घकालीन परिवर्तनको सुरुवातका रूपमा लिनुपर्ने धारणा राखेकी छिन् । “हामी महिलालाई सक्षम बनाउन चाहन्छौं भने, सीप दिनु मात्र पर्याप्त छैन, त्यो सीपलाई व्यवसायमा परिणत गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने कुरा उल्लेख गरेकी छिन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कृष्ण बिष्टले महिलाको उद्यमशीलता विकासमा सरकारको सहयोग निरन्तर रहने बताउँदै “हामी महिलालाई सीप सिकाएर छोड्दैनौं, सीपसँगै आवश्यक प्राविधिक साधनहरू पनि उपलब्ध गराएर स्वरोजगारको अवसर निर्माण गर्ने प्रयास गर्दै आएका छौं । महिलाहरूको क्षमता र लगनशीलतालाई संस्थागत रूपमा उपयोग गर्दै उनीहरूलाई सशक्त उद्यमीका रूपमा अगाडि ल्याउने हाम्रो लक्ष्य लएको बताए ।
त्यसैगरी, सामाजिक महिला उद्यमी सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष गंगा वलीले सहकारी संस्थाको भूमिकाबारे प्रकाश पार्दै “हामी महिलालाई तालिम दिएर मात्र छाड्दैनौं । उनीहरूले प्राप्त गरेको सीपलाई व्यवसायिकरण गर्न सकून् भन्ने हेतुले आवश्यक सहजीकरण, परामर्श, सहुलियत ऋण तथा बजार व्यवस्थापनमा समेत सहकार्य गर्दै अगाडि बढ्ने बताउदैँ महिलाहरूलाई उद्यमशीलताको मार्गमा सघाउनु हाम्रो संस्थाको मूल लक्ष्य हो ।
उक्त कार्यक्रममा बोल्दै तालिमकी प्रशिक्षक यमुना रोकायले “सुरुमा धेरैलाई सुई थाम्न पनि अप्ठ्यारो थियो, तर अन्तिममा उनीहरू आफैंले डिजाइन तयार गर्न र कपडा सिउन सक्ने भए । सिकाईको उपलब्धि भएको कुरा उल्लेख गर्दै सहभागिहरुले मेहनतका साथ सिप सिकेको बताईन् ।
तालिममा सहभागी प्रशिक्षार्थी इन्दिरा बुढाथोकीले “म सधैं अरूसंग कपडा सिलाउनको लागि दिन्थे तर अब आफ्नै मेसिन भएको छ, आफैंको सानो व्यवसाय सुरु गर्छु भन्ने आत्मविश्वास आएको उनले बताएकी छिन् । अर्की सहभागी सुवर्णा वलीले “सिलाइ–कटाइको सीप सिकेपछि घरमै बसेर पनि कमाउन सकिन्छ भन्ने बुझिएको छ । यो तालिमले हाम्रो सोच फराकिलो बनाएको छ बताईन् ।
तालिम कोहलपुर सामाजिक महिला उद्यमी सहकारी संस्थाको समन्वयमा र घरेलु तथा साना उद्योग कार्यालय, कोहलपुर बाँकेको आयोजनामा सञ्चालन गरिएको हो । लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेटमा तालिम सञ्चालन गरिएको हो ।
तालिम अवधिभर महिलाहरुलाई कपडा काट्ने, सिलाउने, डिजाइन बनाउने लगायतका विषयमा प्रयोगात्मक रूपमा प्रशिक्षण दिइएको थियो । साथै, प्रत्येक सहभागीलाई तालिमपश्चात १५ हजार ९ सय १५ रुपैयाँ बराबरको मेसिनरी सामग्री (सिलाइ मेसिन, आइरन, कैँची आदि) र कपडा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमले महिलाहरूलाई आफ्नो जीवनको नयाँ अध्याय सुरुवात गर्न उत्प्रेरणा प्रदान गरेको छ । यस्ता सीपमूलक तालिमले महिलाहरूमा सीपको विकास गर्छ, तर उनीहरूलाई आत्मविश्वासी, जिम्मेवार र आर्थिक रूपमा सक्षम बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दछ ।
सहभागी महिलाहरूले आफ्नो समुदायभित्रै घरेलु स्तरमा कपडा सिलाउने सानो व्यवसाय थाल्ने योजना बनाएको आयोजक संस्थाले जानकारी दिएको छ । यस किसिमको पहलले महिलालाई परिवारको आम्दानीमा योगदान पु¥याउने मात्र नभई सामाजिक मान्यता र आत्मविश्वास पनि बढाउने अपेक्षा गरिएको छ ।
उक्त तालिममा कोहलपुरका विभिन्न स्थानबाट आएका ४० जना महिलाको सहभागिता रहेको थियो ।