कोहलपुरमा शिक्षकलाई IEMIS सम्बन्धी दुई दिवसीय क्षमता विकास तालिम सम्पन्न”

कोहलपुर पुस ११- कोहलपुर नगरपालिकामा शिक्षकहरूको लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी दुई दिवसीय क्षमता विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य विद्यालयका शैक्षिक गतिविधिहरूलाई अद्यावधिक गर्न र IEMIS सफ्टवेयरको प्रयोगमा शिक्षकहरूको क्षमता विकास गर्नु थियो।
कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम ९ पुसमा सुरु भएर १० पुसमा समापन भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विक प्रमुख अतिथिका रूपमा उपस्थित थिए। तालिममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत प्रविनबाबु भट्टराई र शुशिल पौडेलले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई बालबालिकाको तथ्याङ्क व्यवस्थापनमा भएका कमजोरीहरूमा गम्भीर ध्यान दिन आग्रह गरेका थिए। साथै, शिक्षकहरूको लागि तालिमको महत्व र शैक्षिक व्यवस्थापन प्रणालीमा सुधार ल्याउने उद्देश्यलाई जोड दिइएको थियो।
तालिममा कोहलपुर नगरपालिकाका ७५ भन्दा बढी विद्यालयका शिक्षकहरूको सहभागिता थियो।