भेरी अस्पतालको सेवा विस्तार: पश्चिम नेपालमै पहिलो मिर्गौला प्रत्यारोपण सेवा सुरु

कोहलपुर, वैशाख १० — नेपालगञ्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ। अस्पतालले लुम्बिनी प्रदेशमै पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेर नयाँ कीर्तिमान स्थापित गरेको छ। यस उपलब्धिसँगै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मिर्गौला रोगीहरू अब उपचारका लागि काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता हटेको छ।

१३४ वर्ष पुरानो इतिहास बोकेको भेरी अस्पतालले पछिल्ला केही वर्षयता विशिष्टीकृत सेवामा उल्लेखनीय प्रगति गर्दै आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार अस्पताल आम नागरिकका लागि गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी सेवा प्रवाहमा कटिबद्ध छ।

त्यसैगरी, यसअघि सर्जिकल विङ्ग अन्तर्गत १९ शय्या सञ्चालन हुँदै आएकोमा केही समय पहिलेबाट १२ शैया थपेर ३१ शय्या पु¥याइएको मेसु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार इएनटी र युरोलोजी विभागमा १० शय्या, सर्जिकलतर्फ १५ शय्या र जलनलाई ६ शय्या गरी सञ्चालनमा ल्याइएको हो । पोष्ट अप्रेटिभ वार्डतर्फ दुई शय्या थपिएको छ भने अर्थोपेडिक्स विभागका लागि आठ र जनरल पोष्ट अप्रेटिभ विभागका लागि आठ गरी सञ्चालनमा ल्याइएको छ ।

अस्पतालमा यसअघि नै मुटु उपचार, डायलाइसिस, न्युरो सर्जरी, ग्याष्ट्रो सर्जरी, युरो सर्जरीजस्ता विशिष्टीकृत सेवा सञ्चालित थिए। हाल मिर्गौला प्रत्यारोपणजस्ता जीवनरक्षक सेवाले थप उचाइ दिएको छ। भारतका सीमावर्ती क्षेत्रहरूदेखि लिएर सुदूरपश्चिमसम्मका बिरामी भेरी अस्पताल आउने क्रम बढ्दो छ। हाल दैनिक एक हजारभन्दा बढी सेवाग्राही अस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेका छन्।

डा. सुवेदीले भने, “हामी प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहजै पाउन सकून् भन्ने उद्देश्यले काम गरिरहेका छौँ। यो अस्पताललाई पूर्ण रूपमा विशिष्टीकृत सेवा दिने केन्द्रको रूपमा विकास गर्दै लैजाने योजना छ।”

भेरी अस्पतालको यस्तो प्रगति नेपाल सरकारको स्वास्थ्य सेवा विस्तारमा एउटा प्रेरणादायी उदाहरण बनेको छ। सुदूरवर्ती क्षेत्रका सर्वसाधारणलाई सहज, सस्तो र स्तरीय उपचार सेवा दिने अस्पतालको लक्ष्य पूरा हुँदै गएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर