लुम्बिनीमा यस वर्ष वन डढेलोका घटनामा उल्लेखनीय कमी

कोहलपुर, जेठ ८ — लुम्बिनी प्रदेशमा यो वर्ष वन डढेलो तथा आगलागीका घटनामा उल्लेखनीय कमी आएको पाइएको छ। प्रदेश वन निर्देशनालयका अनुसार गत वर्ष वैशाख २५ सम्म ४२१ स्थानमा डढेलोको घटना भए पनि यस वर्ष जेठ ७ सम्म मात्र २९३ स्थानमा यस्तो घटना भएको छ।
वन निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत डिलाराम पौडेलका अनुसार डढेलोबाट यस वर्ष १२ जिल्लाका १४ डिभिजन वन कार्यालयअन्तर्गत ३९७१.७० हेक्टर वन क्षेत्र प्रभावित भएको छ। मौसममा बदली र वर्षा भइरहेकाले डढेलोको जोखिम कम भएको उहाँले बताउनुभयो।
“डढेलोको उच्च जोखिम हुने समयमा मौसम बदली भइरह्यो, वर्षा पनि भयो, जसले आगो नियन्त्रणमा सहज बनायो,” पौडेलले भन्नुभयो, “सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने गर्छन्, तर यस वर्ष वर्षा निरन्तर भइरहेकाले स्थिति नियन्त्रणमा रह्यो।”
विभिन्न जिल्लामा डढेलोको प्रभाव
रूपन्देहीमा २५ स्थानमा ५५६.१ हेक्टर क्षेत्रफल डढेलोबाट प्रभावित हुँदा १७०० बोटबिरुवा नष्ट भएका छन्। रुकुमपूर्वमा ११२० हेक्टर क्षेत्रफलमा आगलागी हुँदा ३२७६ बोटबिरुवा नष्ट भएको छ। पाल्पामा एक जनाको ज्यान गएको र एक गोठ, १२ भारी खर तथा पाँच रुख जलेर नष्ट भएका छन्।
अन्य जिल्लाहरूमा पनि आंशिक क्षति पुगेको छ:
दाङमा ५,००० भन्दा बढी बोटबिरुवा, एक गोठ, तीन परालका टौवा जलेका छन्। कपिलवस्तु (गौतमबुद्ध) मा तीन घर र दुई गोठ जलेका छन् । गुल्मीमा तीन घर/गोठ जलेका छन् ।
पौडेलका अनुसार नेपालमा करिब ९७ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण हुने गर्छ। यस वर्ष पनि डढेलो फैलाउने कार्यमा संलग्न तीन व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।
डढेलोको उच्च सिजन फागुनदेखि जेठसम्म मानिन्छ। यस समयमा सुख्खा घाँसदाउरा, पातपतिङ्गर, हावाहुरीका कारण आगो फैलिने जोखिम उच्च हुन्छ। यद्यपि, यो वर्ष मौसम अनुकूल रहेकाले डढेलोको संख्या र क्षति दुवै कम हुन सफल भएको छ।