१८ वर्षको परदेशी जीवनपछि स्वदेशमै आत्मनिर्भरता

कोहलपुर जेठ २८- खजुरा गाउँपालिका–२ का रेसमप्रसाद चपाईले १८ वर्षसम्म विदेशका खट्टा घिसार्ने थुप्रै सपना देखे। भारत, मलेसिया, कतार, कुवेत हुँदै दक्षिण अफ्रिका — देश बदलिए तर जिन्दगीको लय उही– पसिना, पीडा र परिश्रम। सफलताको खोजीमा बिदेसिएका रेसमले अन्ततः बुझे– आफ्नो माटोमै सुन फलाउने सम्भावना अझ ठूलो रहेछ।
२०७६ साल। आफ्नै घरको आँगनमा गोठ बनाएर पाँच वटा भैँसी र पाँच पाडापाडीसहित सुरु भयो उनको नयाँ जीवनको यात्रा — पशुपालनको बाटो। श्रीमती कलावती चपाईको साथ र हौसलाले थप ऊर्जा थपियो। घरमै पशु आहार बनाउनेदेखि गोठको सरसफाइसम्म, कलावतीले जिम्मेवारीको भाग बाड्न थालिन्।
आज, पाँच भैँसी, तीन पाडी, एक राँगा, तीन बाख्रा र दुई होलेस्टन गाईसहितको फार्म चलाइरहेका छन् रेसम। उनी दैनिक ४० देखि ७० लिटर दुध विक्री गर्दै गाउँमै आत्मनिर्भर बनेका छन्। एक बिघा आफ्नै र तीन बिघा भाडामा लिएको जमिनमा घाँस तथा अन्य पशु आहार उत्पादन गरेर पशुपालनको चक्रलाई परिपूर्ण बनाएका छन्।
कूल १० लाखको प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम अहिले मासिक १ लाख २० हजार रुपैयाँसम्म आम्दानी दिने स्थायी स्रोत बनेको छ।
रेसम र कलावतीको कथा आज बाँकेको ग्रामीण भूभागमा आत्मनिर्भरताको सशक्त उदाहरण बनेको छ। परदेशमा कमाएको पुँजीले स्वदेशमा सुन फलाउन सकिन्छ भन्ने सन्देश उनीहरूको कथा बोलिरहेछ।