घोराहीमा पेस्तोलसहित एक जना पक्राउ


दाङ असार २४- दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टेलबाट अवैध हतियार पेस्तोलसहित सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे निवासी १९ वर्षीय अजय बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रेनिङ सेन्टरको होस्टेलमा अवैध हतियार लुकाएर राखेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासीका क्रममा मंगलवार साँझ सात राउण्ड क्षमताको एक थान पेस्तोलसहित चार थान गोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ परेका विकले ट्रेनिङ सेन्टरको होस्टेलममा बसेर तालिम लिँदै आएका थिए ।

पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार हतियारको स्रोत, प्रयोजन र अन्य सम्भावित संलग्नता बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर