नेपालमा थप तीन जना काेरना सङ्क्रमित

काठमाडौं, २४ चैत ।

नेपालमा थप तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा गए राति भएको परीक्षणबाट तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले कोभिड सङ्क्रमित व्यक्तिमध्ये वर्ष ३७, ५५ र ४४ का पुरुष रहेको बताए ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागि नारायणी अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनीहरुको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटाँैडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीनजनाको पोजिटिभ देखिएपछि पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कोभिड पुष्टि भएका व्यक्तिलाई आइसोलेशनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताए । कोभिड सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य पनि शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थपिरहेको अवस्थामा थप रणनीति बनाउँदै लकडाउनको पूर्णरुपमा पालना गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ । प्रवक्ता डा देवकोटाले कोभिड–१९ को परीक्षणको दायरा बढाएर समयमै सङ्क्रमितको पहिचान गरी भावी रणनीति तय गर्न सहज हुने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे ।

मन्त्रालयले अहिलेसम्म पिसिआर प्रविधिबाट पाँच हजार १८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबिस घण्टामा ७९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिल्लो २४ घण्टामा ६२८ समेत अहिलेसम्म जम्मा चार हजार २० जनाको परीक्षण भएको छ । काठमाडौँ उपत्यकाबाहिरका प्रयोगशाला पछिल्लो २४ घण्टामा १६७ समेत एक हजार १६४ को परीक्षण भएको छ ।

देशभरमा अहिले आइसोलेशनमा ८५ र क्वारेइन्टाइनमा सात हजार ९७३ रहेका छन् । आइसोलेशनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । ¥यापिड टेस्ट किट सबै जिल्लामा पुगेर काम शुरु भइसकेको मन्त्रालयले जनाएको छ । तीन हजार ३२१ जना ¥यापिड टेस्ट भएको छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा गरेर तीन हजार १३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइन्टाइन रहेकासँग सम्पर्क भइरहेको छ ।

मन्त्रालयले सम्भावित सङ्क्रमितको खोजी गर्ने क्रममा एक हजार ५७० ले विवरण भर्न भनिएको छ । तीमध्ये ९५४ जना इन्ट्री गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा रहेको पहिचान गरिएको छ । यससँगै रेड जोनमा पर्नेको सङ्ख्या हालसम्म २०६ पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर