नक्कली विरामी बोक्दै गरेको एम्बुलेन्स, चालकसहित चारजना पक्राउ
तुलसीपुर, २ वैशाख ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन तथा रोकथामकालागि लकडाउन गरेको भन्दै यो समयमा केही एम्बुलेन्सहरुले बदमासी गर्दै आएका छन् । केही दिन अघि लमहीमा तोकिएको भाडा भन्दा तीन गुणा बढि लिएको भन्दै एउटा एम्बुलेन्सलाई नियन्त्रण लिईएको थियो, भने संलग्नलाई पक्राउ गरिएको थियो । यसैक्रममा मंगलबार सल्यानमा अर्को एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने संलग्नलाई पक्राउ गरेको छ ।
सल्यान प्रहरीका अनुसार अन्य विरामीको पुर्जा बोकेर नक्कली विरामी बोक्दै आएको रा१च ५१२ नरबरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सल्यानबाट तुलसीपुर आउँदै गरेका उक्त एम्बुलेन्ससंगै चालक दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारेका ३० बर्षीय गिरीराज खत्री, दाङ लमही नगरपालिका–३ बस्ने २९ बर्षीय मिनराज सुवेदी, २३ बर्षीय दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादेले जानकारी दिए ।
उनीहरु रुकुम पश्चिमबाट मानव परोपकार तथा समाज कल्याण केन्द्रद्धारा संचालित एम्बुलेन्स प्रयोग गरेर दाङ आउन लागेको अबस्थामा सोमबार राति पक्राउ गरिएको हो । प्रहरीका अनुसार बांगेलाखुरी स्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाईन्टबाट नियन्त्रणमा लिएको हो ।