कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

बाँके, २७ साउन ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिईन् ।

उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको भनाइ छ ।

महिला प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल–३ अस्पताल कोहलपुर लगिएको थियो । बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको उपनिर्देशक श्रेष्ठले बताए ।

मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए । महिलाको श्रीमान पनि कोरोना पोजेटिभ छन् । उनी बाँकेमै आइसोलेसनमा छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर