८ दिनमा ३६ जनाको मृत्यु, उपत्यकाको अस्पतालमा मात्रै १७ जना

२८ साउन, काठमाडौं ।

साउन २० गतेसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ थियो । २१ गते एकैदिन ६ जनाको मृत्यु भयो । त्यससता २४ गतेबाहेक हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । आज (बुधबार) एकैदिन ११ जनाले ज्यान गुमाएका छन् ।

यससँगै मृतकको सङख्या ९४ पुगेको छ । अर्थात ८ दिनमा ३६ जनाको मृत्यु भएको छ । ३६ मध्ये १७ जनाको मृत्यु उपत्यकाका अस्पतालहरुमा भएको छ ।

गएका ८ दिनमा मृत्यु भएका ३६ मध्ये १७ जना उपत्यकाका अस्पतालमा उपचारत थिए भने ७ जना पर्साका अस्पतालमा । धनुषाका ३, मोरङका २ र काभ्रे, सिन्धुपाल्चोक, सिरहा, सुनसरी, बाँके, सप्तरी, महोत्तरी र कास्कीका क्रमशः १/१ जनाको यस अवधिमा मृत्यु भयो ।

केस हिस्ट्रीले भन्छ : सबै मानिस जोखिममा

कोरोना संक्रमणसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दीर्घरोगी र बृद्धवृद्धालाई संक्रमणको जोखिम बढी हुने बताएको थियो । नेपालमा सरकारले पनि ६० वर्षमाथि र १२ वर्षभन्दा कम उमेरहरुलाई घरमै बस्न आग्रह गरेको छ ।

तर, पछिल्लो ८ दिनको मृत्यु हेर्दा नेपालमा सबै उमेर समूह र रोग भएका मानिसहरुमा जोखिम भएको देखिन्छ ।

८ दिनको तथ्यांक विश्लेषण गर्दा २० देखि ४० वर्ष उमेर समूहका ९ जना संक्रमितको मृत्यु भएको छ । जसमा गम्भीर किसिमको दीर्घरोग नभएर खोकी, श्वास प्रश्वास, झाडा–बान्ता जस्ता लक्षणहरु थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल लगिएको थियो । यस्तै १९ वर्षीय २ जना संक्रमितको मृत्यु भएको छ, जसमा अरु कुनै गम्भीर समस्या थिएन ।

४० देखि ६० वर्ष उमेर समूहका १३ जनाको मृत्यु भयो । यो समूहका अधिकांशलाई निमोनिया, मधुमेह, मुटु रोग, मिर्गौला, उच्च रक्तचापजस्ता दीर्घरोग देखिएको थियो ।

गएका ८ दिनमा ६० देखि ८० वर्ष उमेर समूहका ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो । उनीहरुमध्ये अधिकांश दीर्घरोग लिएर उपचार गराउन अस्पताल पुगेका थिए । उपचारका क्रममा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

शुक्रराज ट्रपिकत तथा सरुवा रोग अस्पतालको निर्देशक सागरराज भण्डारी भन्छन्, ‘हाम्रो अस्पतालमा उपचाररत संक्रमितमा युवा, दीर्घरोगी र वृद्धा सबै छन् । बढी लक्षण भएकाहरु र कोभिडले गाह्रो पारेका चाहिँ दीर्घरोगी र वृद्धबृद्धा छन् ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दीर्घरोगीहरुको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । विभिन्न दीर्घरोगले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निश्क्रिय बनाउनुका साथै फोक्सोका कोषिकाहरूमा असर पार्छ ।

‘भाइरसले प्रत्यक्ष असर गर्ने भनेको रोग प्रतिरोधात्मक क्षमतामा हो, शरीरमा भाइरसको प्रवेश गरेपछि मानिसको कोषिकाहरु ड्यामेज गर्छ,’ डाक्टर पुनले भने, ‘बढ्दो उमेर र दीर्घरोगले कमजोर बनेको मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरसले झन् कमजोर बनाउँछ र ‘मल्टी अर्गान फेल’ (शरीरका विभिन्न अंगले काम नगर्ने) हुन सक्छ ।’

छातीसम्बन्धी डाक्टर सन्तकुमार दासका अनुसार श्वास–प्रश्वासका समस्या भएका संक्रमितहरु अधिकांश धुमपान गर्ने छन् । क्षयरोग र ब्याक्टेरियल निमोनियाको खतरा पनि धुमपान गर्नेहरूमै बढी देखिन्छ । ‘श्वास–प्रश्वास र निमोनिया भएकाहरुमा भाइरसले चाँडो संक्रमण गरेर गलाउनु सामान्य हो’ डा. दास भन्छन्, ‘कोरोना भाइरसले विशेष गरी श्वास–प्रश्वासमा आक्रमण गर्ने भएकाले पनि यो भाइरसको संक्रमण छातीको समस्या भएकाहरुलाई काल नै हो ।’

डाक्टर दासले भनेजस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुमा ६० प्रतिशतभन्दा बढी छातीसम्बधी रोगका विरामी छन् । २० प्रतिशत अन्य दीर्घरोगी र बाँकी २० प्रतिशत अन्य किसिमका बिरामीहरु रहेका छन् ।

चीनमा कोरोना संक्रमितमा गरिएको अध्ययनअनुसार गम्भीर असर देखिएकाले आईसीयू र भेन्टिलेटरमा राख्नु परेका धेरै श्वासप्रश्वासका रोगी थिए । अन्य व्यक्तिभन्दा श्वासप्रश्वासको रोग भएको व्यक्ति भाइरसबाट बढी पीडित थिए ।

गएका ८ दिनमा मृत्यु भएका ३५ मध्ये १८ जना आईसीयूमा उपचाररत थिए भने ४ जना भेण्टिलेटरमा । अन्यको आइसोलेसनमा उपचाररत रहँदा मृत्यु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर