पुलिस र आर्मीबीचको सेमिफाइनलमा प्रवेश

कोहलपुर बैशाख ७ – विभागीय टिम नेपाल पुलिस क्लबले नेपालगन्जमा सञ्चालित ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनल भेट पक्का गरेको छ । नेपालगन्ज रंगशालामा शनिबार भएको खेलमा पुलिसले भारतको सिलगुडी फुटबल क्लबलाई ४ शून्य गोलले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
खेलमा पुलिसले सहज जित निकाल्यो । खेलमा पुलिस क्लबका तर्फबाट मिना देउवाले खेल सुरु भएको १३ औं मिनेटमा गोल गरेर खाता खोलिन् । पुलिसकी निर्मला उपाध्यायले १९ औं र कप्तान निरु थापाले २३ औं मिनेटमा गोल गरे । पुलिसकी निर्मलाले ३० औं मिनेटमा अर्को गोल थपेसँगै उनी प्लेयर अफ द म्याच घोषित भइन् ।
हारसँगै भारतको सिलगुडी फुटबल क्लब घर फर्केको छ । प्रतियोगितामा यसअघि शुक्रबार त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई पनि ४ शून्य गोलले पराजित गरेर सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो । प्रतियोगितामा दुई विभागीय टिम आर्मी र पुलिस सेमिफाइनलमा भिड्नेछन् । यही बैशाख ९ गते दुबै टिमबीच सेमिफाइनल खेल हुनेछ । पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले नेपालगन्जमा आफ्ना खेलाडीले सोचे जस्तै खेल प्रर्दशन गर्न सफल भएको बताए ।
‘भारतको टिम पनि ठिकै हो, तर हाम्रा खेलाडीले पनि सोचेकै जस्तो खेल प्रर्दशन गरेका छन्,’ उनले भने । नेपालगन्जको प्रतियोगितामा आर्मीलाई जित्नैपर्ने दवाव रहेको प्रशिक्षक सुवेदीले बताए । ‘हाम्रा केही खेलाडी भुटान र युएईमा भएकाले हामीलाई केही असर त पर्ला नै, तर पनि यसपटक आर्मीलाई जित्न हाम्रो योजना छ,’ उनले थपे ।
पुलिस क्लबकी कप्तान निरु थापाले आफ्नो गृह जिल्लामा रहेको रंगशालामा पहिलो पटक छिर्दा उत्साहित भएको बताइन् । ‘मेरो गृह जिल्लामा आफ्नो खेल प्रर्दशन गरेर गोल हान्ने समेत मौका पाए, नेपालगन्जको ग्राउन्ड राम्रो छ,’ उनले भनिन् । भारतको टिम राम्रै भएपनि उनीहरूबीच तालमेल हुन नसकेको निरुले बताइन् ।
सिलगुडी फुटबल क्लबका प्रशिक्षक रमेशकुमारले आफ्ना खेलाडीले धेरै लामो यात्रा गरेका कारण तयारी गर्न नपाएको बताए । ‘हाम्रा खेलाडीले लामो यात्रा गरेर आएका थिए, तयारी केही पनि गर्न नपाएर सिधै ग्राउण्डमा प्रवेश गरे, यसले गर्दा परिणाम हाम्रो पक्षमा आएन,’ उनले भने ।
उक्त क्लबकी टिम कप्तान यमुना पुर्तिले नेपालगन्जको ग्राउन्डले साथ दिएपनि खेल जित्न नसकिएको बताइन् । विपक्षी पुलिस क्लबले राम्रो खेल प्रर्दशन गरेको उनले सुनाइन् । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सुरु भएको प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । यही बैशाख ५ गतेदेखि १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।