इजरायली सेनाको गोली प्रहारमा गाजामा ६७ जनाको मृत्यु, सहायता लिन पर्खिरहेका थिए सर्वसाधारण

गाजा साउन ५- उत्तरी गाजामा संयुक्त राष्ट्रसंघको सहायता ट्रकको प्रतीक्षामा रहेका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसीको रिपोर्टअनुसार, संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) का २५ वटा सहायता ट्रक इजरायलबाट गाजातर्फ प्रवेश गरेलगत्तै भोकाएका मानिसहरूको ठूलो भीड सहायता लिन जम्मा भएको थियो। त्यही क्रममा इजरायली सेनाले गोली प्रहार गरेको बताइएको छ।
इजरायली रक्षा बल (IDF) ले भने उक्त घटनामा “तत्कालको खतरा हटाउन” चेतावनी स्वरूप केही गोली चलाइएको र मृत्यु संख्या ६७ भन्दा कम भएको दाबी गरेको छ।
यसैबीच, हमास मन्त्रालयले गाजामा भोकमरी चरम अवस्थामा पुगेको बताएको छ। “अत्यधिक थकान र भोकका कारण सहायता केन्द्रमा आइपुग्नेहरूको संख्या दिनहुँ बढिरहेको छ,” मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघले पनि गाजामा मानवीय संकट गहिरिँदै गएको भन्दै त्यहाँ तत्काल जीवनरक्षक सहायता पठाउन आग्रह गरेको छ।