तटबन्ध निर्माणमा आठ महिना म्याद थप

दाङ साउन १५ -दाङ जिल्लामा राप्ती नदी तटबन्ध निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीलाई थप आठ महिनाको म्याद दिइएको छ। साढे दुई वर्षको अवधिमा करिब ११ किलोमिटर लम्बाइको तटबन्धमध्ये हालसम्म ७१ प्रतिशत अर्थात् करिब आठ किलोमिटर काम मात्र सम्पन्न भएको छ।
जनताको तटबन्ध आयोजना लमही दाङका प्रमुख डा. नारायण सुवेदीका अनुसार २०७९ पुसमा कालिका कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी २०८२ असार मसान्तभित्र तटबन्धको काम सक्ने लक्ष्य राखिएको थियो। तर, तोकिएको समयमा सबै काम पूरा नभएपछि फागुनसम्मका लागि म्याद थप गरिएको हो।
सुवेदीका अनुसार तटबन्धको काम अन्तर्गत लमही नगरपालिका–४, बुट्कहवा, गढवा गाउँपालिका–२, जेठानगाउँ, गढवा–५, तकियापुर, गढवा–४, हात्तीछाप कुलो, र गढवा–१, कान्छीगाउँमा तटबन्ध निर्माण सम्पन्न भइसकेको छ। हाल गढवा–२, जेठानगाउँ र लमही–४, बलरामपुरमा काम भइरहेको छ।
यद्यपि, लमही–६, मध्यनगरमा भने स्थानीय विवादका कारण तटबन्ध निर्माण कार्य अघि बढ्न सकेको छैन। डिपिआर अनुसार तटबन्धको रेखांकन गर्दा स्थानीयको निजी जग्गा राप्ती नदीको बहावमा पर्ने देखिएपछि विरोध भएपछि काम रोकिएको हो।
सुवेदीका अनुसार राप्ती नदीको डुबान र कटान रोक्न हालसम्म २३.१४ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। यसले लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रका २७२ हेक्टर जमिनलाई डुबान जोखिमबाट सुरक्षित बनाएको छ।
तटबन्ध निर्माणका लागि एसियाली विकास बैंक (ADB) को ७२ करोड ३८ लाख रुपैयाँको लागतमा परियोजना सञ्चालन गरिएको हो। हालसम्म ४५ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ। सुरुका केही महिनामा ढुङ्गाको अभावले काममा ढिलाइ भएको भए पनि पछिल्लो समय काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।