आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षक महासङ्घको आरोप

काठमाण्डौ वैशाख १४– आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो ।
शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । प्रहरीको लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् । प्रहरीले १५ जना शिक्षक घाइते भएका जनाएको छ । तर महासङ्घले भने झन्डै ६० जना शिक्षक घाइते भएका दाबी गरेको छ । एक जना पत्रकारको आँखामा गम्भीर चोट लागेको छ ।
यसैबीच नेपाल शिक्षक महासङ्घले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । झडपपछि शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाउनुभएको हो ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० ले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ । समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ ।